२३ भाद्र २०८१, आइतबार

‘एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनको खाका तयार पार्छौं’

प्रकाशित मिति :  17 July, 2024 3:33 pm


काठमाडाैँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक महिनाभित्र अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्ने बताएकी छन् ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रतिवद्धता व्यक्त गरेकी हुन् । मन्त्री भट्टराईले कार्ययोजनाको अभावमा सो ऐन कार्यान्वयनमा लैजाने काम नभएकाले आफूले त्यसको कार्यान्वयनका लागि कम्तिमा एक महिनाभित्र कार्ययोजना तय गरेर अघि बढ्ने बताइन् ।

उनले भनिन्,”हामीले हाम्रो ऐनको व्यवस्था अनुसार मन्त्रालयले कसरी काम गर्ने भन्ने कुरामा हामीले कार्ययोजना बनाएर अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । आज हामीसँग भएको अघि पनि भनियो–अनिवार्य र निःशुल्क शिक्षा ऐन छ । मैले हिजो मन्त्रालयमा छलफल गर्दा पनि भने–यो ऐनलाई कसरी कार्यान्वयन गर्ने रु भन्ने कुराको खाका अब मन्त्रालयले बनाउनु पर्छ ।”

उनले सो ऐन कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि आफूले छलफल गरेर अघि बढ्ने बताइन् । मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सांसदहरुले दिएको सुझावलाई आफूले ग्रहण गरेर अघि बढ्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !