२३ भाद्र २०८१, आइतबार

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्य

प्रकाशित मिति :  17 July, 2024 3:43 pm


काठमाडौँ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबिच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको हो ।

सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरेका हुन् ।

विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । साथै उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै, मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।

यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ । धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए ।

सहमति अनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बी.एस.सी आई.टी तहमा निःशुल्क पढ्न पाउने छन् । तीन जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन्। धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइ.सी.टी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेसनका अध्यक्ष पङ्कज जालानले बताए ।



प्रतिक्रिया दिनुहोस !