६ पुस २०८१, शनिबार

निजी क्षेत्रको मनोबल बढाउन अर्थमन्त्रीलाई सीएनआईको आग्रह

प्रकाशित मिति :  18 July, 2024 4:48 pm


काठमाडाैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बिच छलफल भएको छ । विहिबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।

परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै सीएनआई अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको उनले बताए ।

विगत तीन वर्षदेखि उद्योगहरू ३०\४० प्रतिशत क्षमतामा संचालन भईरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ छ । उनले विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको बताउँदै चालुपूँजी कर्जा मार्गदर्शन र पूँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्नेमा जोड दिए ।

परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ ।

सो अवसरमा उपप्रधान एवं अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको बताउँदै राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भईदिन निजी क्षेत्रलाई आग्रह गरे । “प्रधानमन्त्री चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन । समस्या देखेरै त्यो समाधानका लागि यो सरकार आएको हो” उनले भने, “अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ ।”

उनले नीतिको स्थीरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भइ सरकारले काम गर्ने बताए । समस्या मात्र नभइ समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !