२३ भाद्र २०८१, आइतबार

स्याङ्जाकाे भीरकोटमा बाढी पहिरोबाट १०८ घरपरिवार प्रभावित

प्रकाशित मिति :  18 July, 2024 6:54 pm


नारायणप्रसाद काेइराला

काठमाडाैँ । स्याङ्जाकाे भीरकोट नगरपालिकामा असार महिनामा भएका मनसुनजन्य विपद्का घटनामा परी १ सय ८ घरपरिवार प्रभावित भएका छ्न्। पालिकाकाे तथ्याङ्क अनुसार ९ वटै वडामा गरि १ सय ८ घरधुरी विपद् बाट प्रत्यक्ष प्रभावित भएका हुन्।

बाढी पहिरोबाट हालसम्म २ जना मानिसको मृत्यु भएको छ भने करिब २० वटा पशुचौपाया मरेका छन्। वडा नम्बर २ कुखुरा फार्ममा बाढी पस्दा करिब २ सय ५० कुखुरा बगाएको छ।

बाढी पहिरोले १ सय ५० रोपनी खेतीयोग्य जमिन र धानबालीमा क्षती पुगेको छ। वडा नम्बर ५ र ६ मा गरि २ वटा घर पूर्ण रूपमा क्षती भएका छन्। असार २१ र २२ गतेको अविरल वर्षा र पहिरोका कारण सञ्चार सेवा र विद्युत सेवा केही दिन अवरुद्ध भएको भएपनि हाल सुचारू रहेका छन्। फोहोरमैला व्यवस्थापन , स्वास्थ्य सेवा, खानेपानी लगायतका सेवाहरू सुचारू रहेको प्रशासन शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

बाढी पहिरो पिडित र प्रभावित परिवारले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र नेपाल रेडक्रस सोसाइटी , स्याङ्जाबाट राहत प्राप्त गरेका छन्। यसैगरी भीरकोट जेसिज र लायन्स क्लब अफ भीरकोटले पनि नगरपालिका र जनप्रतिनिधिसँग समन्वय गरि १४ घरपरिवारलाई राहत वितरण गरेका छन्। सिद्धार्थ राजमार्ग एकतर्फी रूपमा सुचारू रहेको छ भने अवरुद्ध ग्रामीण सडकहरू सुचारू गर्ने कार्य भैरहेको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।

विपत् व्यवस्थापन गर्न बाढी पहिरो पिडित परिवारलाई ५७ थान त्रिपाल,१ हजार २० मिटर २० मिलिमिटरको खानेपानीको पाइप,४५ थान ४ इन्चको पाइप,४ थान ६ इन्चको पाइप र ४८ थान जाली वितरण गरिएको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !