बिआरआई परियोजनाको बारेमा जनतालाई बुझाउनु जरुरी छः महासचिव विप्लव
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका माहासचिव नेत्रविक्रम चन्दले बिआरआई परियोजनाको बारेमा स्पष्ट रुपमा जनतालाई बुझाउन जरुरी रहेको बताएका छन्।
बिहीवार नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बिआरआई वास्तविकता र भ्रम विषयक अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले बिआरआई परियोजनाको बारेमा विभिन्न कोणबाट टिकाटिप्पणी हुने गरेको भन्दै यथार्थ कुरा जनतालाई बुझाउनुपर्ने आवश्यकता रहेको बताएका हुन्।
चीनले विकासलाई मानव जातिसँग जोड्नका लागि बिआरआई परियोजना अगाडी बढाएको रुपमा शुरुवाती चरणमा नेपालीको बुझाइ भएको भन्दै पछिल्लो समय बुझाइमा फरक पर्न थालेको उनको भनाइ छ ।
बिआरआई मार्फत चीनले सैन्य दृष्टिकोणसहित नेपालमा आफ्नो आर्थिक लगानी गर्न खोजेको हो भने यसबारेमा छलफल हुने बताए।
चन्दले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार विकास र समृद्धिका लागि मात्रै बिआरआई अगाडी बढेको हो भने यो कुरा जनतालाई बुझाएर जानुपर्ने बताएका हुन्।
बिआरआईका बारेमा अपव्याख्या हुँदा त्यसको मार पनि नेपाली जनताले भोग्नुपर्ने भनाइ उनको छ ।
चन्दले भने, “नेपालको सार्वभौमिकतालाई ध्यान दिदैँ, असंलग्न परराष्ट्र नीति या चीनले नै भनेको पञ्चशीलको सिद्धान्त अनुसार र राष्ट्रपति सीले भनेजस्तै चिनको विकासलाई मानव जातिसँग जोड्नका लागि र हाम्रो जस्तो देशका जनतालाई त्यहाँको विकास र समृद्धि, अनुसन्धानसँग जोडेर सँगसँगै यात्रा गर्नका लागि अगाडी सारिएको प्रोजेक्ट हो भने त्यही रुपमा नै हामीले यहाँको जनतालाई बुझाउन जरुरी छ । ता कि अर्को कुनैपनि गलत सम्झौता, गलत खालको प्रवृत्तिको दबाबले सही खालका सम्झौता र विषयहरुलाई पनि बंग्याउने, अपव्याख्या गर्ने र त्यसको मार पनि हामीले खेप्नुपर्ने भयो भने नेपालको लागि दुर्भाग्य हुन्छ ।”
महासचिव चन्दले मध्यपूर्वको तनाव र युक्रेन युद्धपछि बिआरआईको व्याख्या बदलिँदै गएको चर्चा गर्दै ठूल्ठूला शक्ति राष्ट्रहरु चिनसँग डराइरहेका बताए।
—न्युज एजेन्सी नेपाल