२० कार्तिक २०८१, मंगलबार

कोशी प्रदेशमा हात्तिको आक्रमणबाट १० जनाको मृत्यु २५ जना घाइते

प्रकाशित मिति :  19 July, 2024 2:19 pm


काठमाडौं । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए। उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए।

“झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दाबढी हात्तीको समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए”, प्रवक्ता दाहालले भने । उनका अनुसार एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएका छन् ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि रु २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !