२ कार्तिक २०८१, शुक्रबार

सरकारले संसद भवन निर्माणमा विशेष ध्यान देओस्ः अध्यक्ष दाहाल

प्रकाशित मिति :  19 July, 2024 3:28 pm


काठमाडाैँ । राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी संघीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन्।

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका सम्बन्धित पक्षसँगको छलफलमा उनले २१ औ शताब्दीको सन्देश दिनेगरी सो भवन निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन्। उनले संसद भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख व्यक्त गरे ।

अध्यक्ष दाहालले सो संसद भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराए । उनले संसद भवनमा भोटिङको पनि उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता औंल्याए । दाहालले भने, “संसद भवन निर्माणमा आधुनिकता देखिएन । हल भित्र पसीसकेपछि माननीयज्यूहरुले अनुभुति गर्नेकुरा देखिएन । हामी २१ औं शताब्दी छौं । हाम्रो संसद भवनले यो खालको सन्देश दिएको छ भन्ने खालको केही छ भने त्यो पनि छलफल गरौं भन्न खोजेको हुँ ।”

छलफलमा सो भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले सो भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि आफूहरुले ठेकदार कम्पनीलाई ताकेता गरिरहेको जानकारी गराएका थिए । उनले हालसम्म सो भवनको भौतिक प्रगति ८१ दशमलव ५ प्रतिशत हासिल भएको उल्लेख गर्दै तोकिएको आगामी चैत्र १८ गतेसम्म सबै काम सम्पन्न हुनेगरी जनशक्ति परिचालन गर्न सम्बन्धित पक्षलाई ताकेता गराउने काम भइरहेको बताए ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित शुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ । थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरुले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !