संविधान संशोधन गर्नुपरे सबै दलको सहमती लिने प्रयास हुन्छः योगेश भट्टराई
काठमाडौँ। सत्तारुढ नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले विपक्ष दलहरुलाई पनि साथमा लिएर सरकार अघि बढ्ने बताएका छन्।
आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सबै राजनीतिक दलहरुसँग सहमती गरेर मात्रै संविधान आवश्यकताअनुसार संशोधन गर्न लागिपर्ने समेत बताए।
सचिव भट्टराईले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधनका लागि सबै दलहरुको सहमती लिने मुख्य दुई ठूला काममा सरकार केन्द्रित हुने बताए।
दुई ठूला दल एमाले र काँग्रेस एक ठाउँमा आउनुको अर्थ जनताको आशा अनुसार काम गर्नु रहेको जनाउदै भट्टराईले सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि पनि सक्दो पहल गर्ने बताए।
उनले भने, “विपक्षमा रहेका दलहरुलाई सरकारको पक्षमा ल्याउने हाम्रो कोशिस हुन्छ । संविधान संशोधन गर्दा हामी दुई तिहाई बहुमत मात्रै होइन, सकेसम्म सर्वसम्मत रुपमा संविधान संशोधन गर्ने कोशिस हामी गर्नेछौं । त्यसैका लागि हाम्रो यो गठबन्धन हो ।”
सचिव भट्टराईले विपक्ष दलहरुले दिएको सुझावलाई ग्रहण गरेर सरकार अघि बढ्ने बताए।
—न्युज एजेन्सी नेपाल