३ माघ २०८१, बिहिबार

सरकारले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी काम गर्छः काँग्रेस प्रवक्ता महत

प्रकाशित मिति :  22 July, 2024 7:41 am


काठमाडौँ। सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जनताको आशालाई विश्वासमा परिणत हुनेगरी सरकारले काम गर्ने बताएका छन्।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुमाझ प्रवक्ता महतले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने संकल्प दुई ठूला दल नेतृत्वको सरकारले लिएकाले त्यसमा सफल हुने दाबी समेत गरे।

उनले सरकार बनेलगत्तै निजी क्षेत्रको आत्माविश्वास बढेको संकेत देखिएको थालेको जिकीर गर्दै पार्टी र व्यक्तिभन्दा माथि उठेर सरकारले काम गर्नुपर्ने बताए।

प्रवक्ता महतले भने, “यो सरकार बनेको नै काम गर्नका लागि हो । अहिलेसम्म जति पनि परीक्षण भयो । त्यसले अस्थिरता झनझन थप्यो । त्यसो हुनाले देशका सबभन्दा ठूलो दलहरु दुई वटा दल र अरु दलहरुससमेत सम्मिलित यो सरकार बनेको छ । यो दुई वटा दलको जुन अनुभव छ । लोकतन्त्रप्रतिको प्रतिवद्धता छ । र जतिपनि लोकतान्त्रिक आन्दोलन भएका छन । ती आन्दोलनको नेतृत्व गरेको छ । त्यस अर्थमा अहिले नेपाली जनताले काँग्रेस र एमाले मिलिसकेपछि देशमा गुणात्मक अन्तर आउँछ । स्थायित्व आउँछ । र अर्थतन्त्र चलायमान हुन्छ ।”

प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सबै दलको सकारात्मक सुझावलाई ग्रहण गरेर अघि बढने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !