२६ पुस २०८१, शुक्रबार
लुम्बिनीमा नयाँ सरकार

संघमा विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्दा लुम्बिनीमा लिला गिरीकाे अवसर गुम्याे !

प्रकाशित मिति :  22 July, 2024 2:23 pm


काठमाडौँ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो ।

बाध्यकारी नभए पनि प्रचलन अनुसार संसदीय दलका नेता मुख्यमन्त्री बन्ने संसदीय अभ्यास थियो ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता नेता चेतनारायण आचार्य पनि मुख्यमन्त्रीको दौडमा रहेको भनिए पनि गिरी अन्तिमसम्म आफै मुख्यमन्त्री बन्ने विश्वस्त थिए ।

निर्वाचनपछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा छोटो समय मुख्यमन्त्री बनेका गिरी यसपटक मुख्यमन्त्री बनेर लामो कार्यकाल बस्ने पक्षमा थिए ।

उनकाे इच्छा र चाहना विपरीत पार्टी केन्द्रले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री गिरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल निकटका हुन् ।

आचार्य महासचिव शङ्कर पोखरेल निकटका हुन् ।

दुबै प्रभावशाली नेताको प्रदेश भएकाले केन्द्र र प्रदेशमा शक्ति सन्तुलन मिलाएर ‘इगो’को समस्या समाधान गर्नुपर्ने थियो ।

सम्भवत : केन्द्रमा पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री नबनेको भए गिरी मुख्यमन्त्री बन्न सक्थे ।

सुरुमा पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने कि नबन्ने भन्ने आशङ्का थियो । कांग्रेसले रमेश लेखकलाई सरकारको नेतृत्व गरेर पठाउने हल्ला चलेपछि पौडेल आफैले पनि जाँगर गरेका थिएनन् ।

कांंग्रेसले केन्द्रीय सदस्यलाई सरकारको नेतृत्व गरेर पठाउँदा पौडेल स्वतः अफ्ठेरोमा पर्ने थिए किनभने पौडेल उपाध्यक्ष र सरकारमा पनि उपप्रधानमन्त्री भइसकेका थिए ।

उनले निकटहरूसँग कांग्रेसले केन्द्रीय सदस्यलाई सरकारको नेतृत्व गरेर पठाए आफू सरकारमा नजाने प्रष्ट पारिसकेका थिए । पार्टीभित्र पनि पौडेललाई रोक्ने समूह सकृय रहेको समेत टिप्पणी हुने गरेको थियो ।

नेकपा एमालेबाट अर्थमन्त्री बनेर जान सक्ने सम्भावना रहेका सुरेन्द्र पाण्डे निर्वाचनमा पराजित थिए भने डा. युवराज खतिवडा सांसद थिएनन् ।

महासचिव शङ्कर पोखरेललाई समेत अर्थमन्त्रीका रुपमा पठाउने चर्चा चलेको थियो तर पोखरेल पनि चुनावमा पराजित भएका थिए भने अध्यक्ष र महासचिव दुबै सरकारमा जाँदा राम्रो सन्देश नजाने एमालेले निष्कर्ष निकालेको थियो र पौडेल अर्थमन्त्रीका रूपमा एमालेबाट निर्विकल्प ‘फिगर’ बनेका थिए ।

कांग्रेसले पनि पार्टी भित्रका सनियिर नेता प्रकाशमान श्रेष्ठलाई सरकारमा नेतृत्व गरेर पठाएपछि पौडेललाई सरकारमा जाने सहज बाटो खुलेको थियो ।

अर्थमन्त्री बन्ने पक्का भएपछि पौडेललाई अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीमा मुख्यमन्त्री फरक व्यक्ति (महासचिव समूहको) हुन सक्ने सङ्केत गरिसकेको स्रोतको दाबी छ । आचार्यले समेत मुख्यमन्त्रीका लागि लबिङ तिब्र पारेका थिए ।

यिनै पृष्ठभूमिकाबिच उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको शक्ति सन्तुलन मिलाउँदा लुम्बिनी प्रदेशमा गिरी मुख्यमन्त्री बन्ने अवसर गुमाएका छन् । अब केन्द्रकाे निर्देशन अनुसार संसदीय दलका उपनेता आचार्य मुख्यमन्त्री बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस !