२३ भाद्र २०८१, आइतबार

बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने भीरकोट नगरपालिकको निर्णय

प्रकाशित मिति :  23 July, 2024 1:57 pm


काठमाडाैँ । स्याङ्जाकाे भीरकाेट नगरपालिकाकाे स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढी पहिरो प्रभावितलाई तत्काल राहत र पुनर्निर्माणको काम अघि बढाउने भएकाे छ ।

हिजाे (साेमबार) बसेकाे बैठकले पालिकाभित्र यो वर्षमा भएका विपद्जन्य घट्ना तथा सो बाट प्रवाभितहरूको राहत, उद्धार तथा पुनःस्थापना सम्बन्धमा छलफल गरेकाे नगर प्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समिति संयोजक गोविन्द कुमार कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले मानवीय क्षति भएकोमा प्रतिव्यक्ति १ लाख, घर पूर्णक्षति भएकोमा ५० हजार, गोठ पूर्ण क्षति भएकोमा ३० हजार, टवाइलेट पूर्ण क्षति भएकोमा निर्माण सामाग्री सहित ५ हजार, लैनो भैसी मरेको भए २५ हजार, थारो भैसी मरेको भए १० हजार र बाख्रो मरेको भए ५ हजारका दरले तत्काललाई राहत दिने निर्णय गरेको छ ।

यस्तै बर्षाजन्य मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर सबै स्थानीय व्यवस्थापन समिति तयारी अवस्थामा बस्ने, अति बर्षा भयो भने सडक अवरुद्ध हुने हुँदा त्यसका लागि जेसिबी लगायतका मेसिन तयारी अवस्थामा राख्ने समेत निर्णय भएको छ । यस्तै असार महिनामा आएको बाढी तथा पहिरोले कृषि, पशु र सिचाईंको क्षेत्रमा पारेको क्षतिको मर्मत तथा राहतका लागि सबै निकायलाइ अपिल गर्ने निर्णय पनि भएको नगरउप्रमुख भगवती रेग्मी अर्यालले बताइन् ।

भीरकोटमा यस बर्षको बाढी तथा पहिरोको कारण २ जनाको मृत्यु भएको छ भने ३ वटा भैंसी र १६ वटा बाख्रा मरेका छन् । नगरपालिकाले दिएको तथ्याङ्क अनुसार ११ वटा घर पूर्ण क्षति भएका छन् भने एउटा मन्दिर र दर्जनौं खानेपानी ट्याङकी पहिरोले बगाएको छ । २ वटा गोठ पूर्ण रूपमा नष्ट हुँदा एउटा विद्यालयमा आंशिक क्षति पुगेको देखिन्छ । यसैगरी २ वटा पक्की पुलमा क्षति पुगेको छ भने १ सय १५ वटा घर जोखिममा रहेको पालिकाको तथ्याङ्क छ ।

अहिलेसम्म पहिरोका कारण १७ घरपरिवार विस्थापित भैसकेको नगरपालिकाले जनाएको छ । ३ सय ९६ रोपनी खेतीयोग्य जमिन पुरिएको तथा ५० वटा कुलोमा क्षति पुगेको पालिकाले जनाएकाे छ । साथै ५ सय ३७ सुन्तलाका विरुवा पूर्ण रूपमा नष्ट भएको तथ्याङ्क नगरपालिकाले सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस !