३ माघ २०८१, बिहिबार

प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति :  23 July, 2024 3:09 pm


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस स्वतन्त्रताको सीमा निर्धारण हुनुपर्ने बताएका छन् ।

मंगलबारको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि छलफल गर्दै सञ्चारमन्त्री गुरुङले प्रेस स्वतन्त्रता सबैसँग मर्यादित हुनुपर्ने बताएका हुन् ।

मन्त्री गुरुङले भने ‘हामी सबै प्रेस फ्रिडमको कुरा गर्छौं। जुडिसियरीको फ्रिडमको कुरा गर्छौं। तर मलाई के लाग्छ भने हरेक चिजको आफ्नो लिमिटेशन हुन्छ। सीमा छ। सीमा भन्दा बाहिर दुनियाँमा कुनै चिज छैन। हाम्रो डेमोक्रेसी पनि आफैँमा लिमिटेशन छ। साह्रै धेरै डेमोक्रेसीको उपयोग गरियो भने अनारर्किजम सुरु हुन्छ,।’

सीमा भन्दा बाहिर केहि नरहेको भन्दै लोकतन्त्रको पनि सीमा रहेको भन्दै मन्त्री गुरुङले प्रेसलाई छुनै हुँदैन भन्ने धारणाले विधेयक निर्माण गर्न नहुने बताए ।

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको भन्दै प्रेस स्वतन्त्रतालाई थिच्ने नभई प्रोत्साहन गर्नेगरी विधेयक आउनुपर्ने बताए । उनले सरकारको तर्फबाट मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न सुझाव दिए ।

समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रेस स्वतन्त्रताको अधिकार नियन्त्रण र कमजोर गर्नेगरी विधेयक ल्याउन नहुने बताए । उनले सरकारले आफ्नो तर्फबाट विधेयकबारे आधिकारिक धारणा आएपछि मात्रै दफावार छलफल गर्न उचित हुने धाराणा राखे ।



प्रतिक्रिया दिनुहोस !