२३ भाद्र २०८१, आइतबार

उपसभामुख रानामाथि छानविन गर्न सांसदहरूको माग

प्रकाशित मिति :  24 July, 2024 2:23 pm


काठमाडाैँ । सांसदहरूले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामाथि छानविन गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरूले उपसभामुख रानामाथि आर्थिक लेनदेन गरेर मानव तस्करीको आरोप लागेको भन्दै छानवीन गर्न माग गरेका हुन् ।

सांसदहरूले उपसभामुखमाथि गम्भीर आरोप लागेपछि प्रतिनिधि सभाको गरिमामाथि नै प्रश्न उठ्ने भन्दै तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् ।

उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरूको शीर निहुरिएको बताइन् । उनले छानविन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिएमा कानूनी कठघरामा उभ्याउनुपर्ने बताइन् ।

बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद वासुदेव घिमिरेले उपसभामुखको विषय सिंगो संसदसँग जोडिने विषय भएको भन्दै यस प्रकरणमा छानवीन गर्नुपर्ने बताए । उनले दोषि देखिएमा कानूनी कारबाही गर्नुपर्ने बताए ।

नेकपा (एमाले) को सांसद रघुजी पन्तले उपसभामुख रानाको सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी समेत आएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएर समितिले कदम चाल्नुपर्ने बताए । उनले कानूनी र राजनीतिक पक्षलाई समेत हेरेर विषय अगाडी बढाउनुपर्ने बताए । उनले समितिको काममाथि प्रश्न नउठ्ने गरी उपसभामुखमाथिको यस प्रकरणमा समितिले काम गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !