२ कार्तिक २०८१, शुक्रबार

सरकार गठनले नेपाली कांग्रेस लुम्बिनीमा भाँडभैलो, प्रदेश सभापति भन्छन्,‘हाम्रो पुरै असहमति छ ’

प्रकाशित मिति :  24 July, 2024 5:10 pm


देउखुरी । नयाँ सरकार गठनलाई लिएर नेपाली कांग्रेस लुम्बिनी प्रदेशभित्र भाँडभैलो देखिएको छ ।

अन्तिम समयमा प्रमुख सचेतक रहेका जन्मजय तिमिल्सिनाको सपथ रोकिएको छ भने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले आफूहरूलाई नयाँ सरकार गठनबारे केही जानकारी नभएको बताएका छन् ।

‘कार्यसमितिको असहमति’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश सरकारमा मन्त्री पठाउने प्रकृयामा आफूहरूको कुनै संलग्नता नभएको र सहमति पनि नभएको बताए ।

उनले भने,“हामी यस प्रकृया संलग्न छैनौँ र हाम्रो प्रदेश कार्यसमितिको कुनै सहमति छैन ।”

उनले प्रदेश कार्यसमितिको तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

लुम्बिनीमा पनि संघकाे समिकरण अनुसार नेकपा एमाले र कांग्रेस मिलेर सरकार गठन गरेका छन् ।

नेपाली कांग्रेसले ५ मन्त्रालय पाएकोमा ४ मन्त्रीले मात्रै आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् । जन्मजय तिमिल्सिनालाई अन्तिममा रोकिएको छ ।

सपथ ग्रहण गरेका मध्ये प्रचण्डविक्रम शेखर कोइराला पक्षका हुन भने बाँकी शेरबहादुर देउवा पक्षका हुन् । न्यौपानेलाई शेखर कोइराला पक्षले सिफारिस समेत गरेको थियो तर निर्णय प्रकृयामा प्रदेशलाई वेवास्था गरिएको भन्दै सभापति पुन रुष्ट छन् ।

उनले भने,“ हामीले हाम्रो प्रवक्ता नै सिफारिस गरेका थियौँ । हामीलाई पनि जानकारी दिएको भए खुशी नै हुने थियौँ तर केन्द्रले खल्तिबाट निकालेर मन्त्री बनायो । हामी नमान्न सक्छौँ ।”

‘तिमिल्सिनालाई रोक्नुपर्ने कारण थिएन’

सभापति पुनले तिमिल्सिनालाई रोक्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले भने,“समग्रमा त हामी जानकार छैनौँ तर उहाँ( जन्मजय तमिल्सिना)लाई रोक्नुपर्ने कुनै कारण थिएन । राजनीतिक रुपमा राम्रो भएन ।”

अहिले नेपाली कांग्रेस लुम्बिनीको प्रमुख सचेतक तिमिल्सिनाको नाम अन्तिमसम्म पनि मन्त्री सूचीमा तर संसदीय दलका नेता डिल्ली चौधरीले केन्द्रबाट फोन आएको भन्दै रोकेका थिए ।

स्रोतका अनुसार तिमिल्सिनालाई ‘तपाईंको एक दुई दिनमा टुंगिन्छ अहिले केन्द्रबाट रोक्न निर्देशन आयो’ भनेका थिए ।

तिमिल्सिना रोकिएपछि सभापति देउवा पक्षभित्रै खैलाबैला भएको छ ।



प्रतिक्रिया दिनुहोस !