२३ भाद्र २०८१, आइतबार

सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरू

प्रकाशित मिति :  24 July, 2024 10:05 pm


काठमाडाैँ । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरू गरिएको छ । बुधवार बिहान काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूमध्ये चार जनाको पोस्टमार्टस सुरू गरिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले साँझ ५ बजेबाट सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम सुरू गरिएको बताए । उनले आज पोस्टमार्टस सुरू गरेका चार जनाको आज नै पोस्टमार्टम सक्ने गरी परीक्षण सुरू भएको बताए।

उनले मृतकहरूको जतिसक्दो छिटो पोस्टमार्टम सक्नेगरी निरन्तरता दिइने बताए । उनले अस्पताले सकेसम्म ७२ घण्टाभित्र मृतकका आफन्तलाई बुझाउने तयारी रहेको बताए ।

उनले मृतकहरूको प्राय सबै शरिर जलेकाले पोस्टमार्टममासमय लाग्ने भन्दै परिवारले दिएको विवरण अनुसार सकेसम्म चाडै सक्ने बताए । उनले अस्पतालमा जनशक्ति थोरै भएकाले पोस्टमार्टमको लागि पाटन अस्पताल,भक्तपुर र पोखराबाट समेत डाक्टरहरुलाई बोलाएको बताए । उनले एउटा शवको पोस्टमार्टम सक्नका लागि कम्तीमा ४ घण्टा समय लाग्ने बताए ।

उनले शव धेरै जलेकाले सकेसम्म चाँडो सक्नेगरी काम अघि बढाएको बताए । उनले शवहरू आफन्तलाई बुझाउँदा ‘कस्मेटिक सर्जरी’ गरिने बताए । उनले पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ जना चिकित्सकहरू खटिएको बताए । उनले शुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल (दाँतको भाग) र शरीरमा स्थायी रुपमा बनेका संकेतहरू (खत, ट्याटु लगायत) हेरिने बताए ।

अस्पताल परिसरमा आफन्त गुमाएका आफन्तहरू भावविह्वल अवस्थामा शव कुरेर बसिरहेका छन् । विमान दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । घाइते भएका पाइलट मनीषरत्न शाक्यको अहिले काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !