२३ भाद्र २०८१, आइतबार

लुम्बिनीमा नयाँ सरकार : चेपुवामा परेका जन्मजय तिमिल्सिना

प्रकाशित मिति :  25 July, 2024 11:21 am


दाङ । मन्त्रीको सूचीमा रहेर पनि अन्तिममा नाम काटिएपछि नेपाली कांग्रेस लुम्बिनमा कांग्रेस नेता जन्मजय तिमिल्सिना चर्चामा छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतक समेत रहेका तिमिल्सिना मन्त्री बन्ने पक्कापक्की थियो । यसका लागि उनले कसरत समेत गरेका थिए ।

राती अबेरसम्म पनि मन्त्रीको सूचीमा रहेका तिमिल्सिनालाई बिहान एकाएक रोकियो ।

उनलाई संसदीय दलका नेता डिल्ली चौधरीले‘एकदुई दिनमा टुङ्ग्याउने भनेर केन्द्रबाट फोन आयो’ भन्दै रोकेका थिए ।

लुम्बिनीमा नेकपा एमालेसँगको सहमति अनुसार ५ वटा मन्त्रालय कांग्रेसले पाएको थियो ।

अहिले कांग्रेसबाट ४ वटा मन्त्रीले मात्रै पद तथा गोपनीयताको सपथ लिएका छन् । तिमिल्सिनाको ठाउँ खाली छ । सरकारमा मन्त्री पठाउने विषयलाई लिएर कांग्रेसभित्र विवाद छ ।

शेखर कोइराला समूहले लुम्बिनीमा ५ मध्ये २ मन्त्री मागेको थियो । अहिले प्रचण्डक्रिम न्यौपाने मात्रै कोइराला पक्षका छन् ।

आन्तरिक विवाद मिलाउन तिमिल्सिनालाई रोकिएको टिप्पणी हुने गरेको छ ।

स्रोतले भने केन्द्रले भने नागरिक उन्मुक्ति पार्टीलाई मिलाउन ठाउँ खाली राखिएको दाबी गर्छ ।

लुम्बिनीमा इमानदार मानिएका तिमिल्सिनालाई रोकिएपछि देउवा पक्षले नै नागरिक उन्मुक्तिलाई सहभागि नगराए पनि फरक नपर्ने टिप्पणी गर्न थालेका छन् । स्रोतले भन्यो,“नागरिक उन्मुक्ति पार्टीलाई समावेश गर्न उहाँलाई रोकिएको भन्ने पनि छ तर अब यो आवश्यक छैन ।”

एमाले र कांग्रेसबिच भने सान दललाई २ वटा मन्त्रालय साना दललाई राख्ने भनिएको थियो र त्यसै अनुसार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

विवाद भएपछि मन्त्रालय भने तोकिएको छैन । शेखर कोइराला पक्षले भने मन्त्री पठाउँदा प्रदेश समितिलाई जानकारी नगराइएको भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानकर्षण पत्र समेत पठाएको छ ।

केन्द्रले नागरिक उन्मुक्तिलाई नै मन्त्रालय दिन्छ, प्रदेशका नेता कार्यकर्ताको माग अनुसार केही दिनमा तिमिल्सिनालाई जिम्मा दिन्छ वा शेखर कोइराला पक्षका सांसदलाई मन्त्री बनाउँछ अझै प्रष्ट भएको छैन ।



प्रतिक्रिया दिनुहोस !