२३ भाद्र २०८१, आइतबार

बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता अधिकारकर्मीहरूको माग

प्रकाशित मिति :  25 July, 2024 3:34 pm



काठमाडाैँ । उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरूमाथि ठगी भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उपभोक्ता अधिकारकर्मीहरूले दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा उपभोक्ताहरू चरम ठगीमा पर्दै आएका बताएका हुन् ।

उनीहरूले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसक्दा अखाद्य वस्तुहरू उपभोक्ताको चुल्होसम्म पुग्ने अवस्था रहेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् । बैठकमा बोल्दै उपभोक्ता जागरण अभियान नेपालका अध्यक्ष कृष्णप्रसाद भण्डारीले नेपालको बजारको अवस्था डरलाग्दो भएको बताए ।

उनले बजारमा म्याद गुज्रिएका अखाद्य वस्तुहरुको बिक्री वितरण भइरहेको बताए । अखाद्य वस्तुका कारण उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको उनको भनाई छ । उहाँले सामग्रीहरु चर्को मूल्यमा बिक्री वितरण भइरहेको र मिसावट पनि व्यापक रुपमा हुने गरेको बताए। त्यस्तै बिजुली, पानी र टेलिफोन लगायतका सेवाहरु नियमित नहुँदा नहुँदै पनि चर्को महशुल असुल गरिरहेको भन्दै यसतर्फ पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

बैठकमा बोल्दै सुशासन महासंघ नेपालका अध्यक्ष ओम लामिछानेले स्थानीय निकायहरूले अनुगमन गर्नुपर्ने बताए । उनले बजार अनुगमन गर्ने कर्मचारी बढाउनुपर्ने बताए । उनले उपभोक्ता अदालत गठन तुरुन्तै गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै विश्व उपभोक्ता महासंघ नेपालका अध्यक्ष तारा कार्कीले शक्तिको पहुँचका कारण बजार स्वच्छ हुन नसकेको बताए । उनले वाणिज्य विभागले बजार अनुगमन गरेर दोषिलाई कारबाही गर्न खोजेपनि राज्यको माथिल्लो निकायबाट संरक्षण हुने गरेको बताए । उनले सिमेन्ट, काँटाकिला लगायतका निर्माणका सामग्रीमा सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतको भन्सार बिन्दुबाट नआउने खाद्य सामग्रीहरु गैरकानूनी बाटोबाट आउने गरेको बताए । उनले गैरभन्सारबाट आउने सामग्रीहरुको मूल्यमा एकरुपता नहुने र मिसावट हुने हुँदा उपभोक्ताहरू ठगिएका बताए ।



प्रतिक्रिया दिनुहोस !