२२ भाद्र २०८१, शनिबार

रामेछापमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

प्रकाशित मिति :  26 July, 2024 8:09 am


सांकेतिक फाेटाे

मन्थली । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरोले पुरेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बेलुकी ८ः४० बजे अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा उनका १८ वर्षीया छोरी सीता तामाङ, १४ वर्षीया नातिनी आशिका र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

बिहीबार साँझ रोपाइँ सकेर घरमा एकै ठाँउमा आगो तापेर बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिबाट ढिस्का खसेर पुरेको थियो । तीनै जनाको शव स्थानीय र प्रहरीले पन्छाएर बाहिर निकालेका थिए । सोही घरको अर्को कोठामा बसेका विमान र उनकी श्रीमती भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

पहिराले घर पुरिएको सूचना पाएलगतै सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थल पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !