श्री जानकी आँखा अस्पताल पुनः विवादमा, बिरामीलाई सास्ती
काठमाडाैँ । पटक पटक विवादमा आइरहने जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः एक पटक विवादकै कारण चर्चामा छ ।
केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकित्सकिय सेवा प्रभावित भएको हो । केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले अस्पताल सुधारका लागि दबाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलिय तथा सर्वपक्षिय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन उग्र रुप लिएको छ ।
अहिले आएर दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएको छ । सर्वपक्षिय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ । विवादकाबिच दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आ–आफ्नो पक्ष राखेका छन् ।
समितिले पत्रकार सम्मेलन गरेर रेडक्रस धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएको छ ।
रेडक्रसका कोषाध्यक्ष एवं समितिमा समेत रहेका धिरेन्द्रमोहन झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दाबी गरे । उनले सिंह अगाडी सभापति बन्नुभएका गंगाराम यादव ७७ को नियमावली अनुसार बनेको अवस्थामा उहाँपछि सभापति बन्नुभएका सिंह ७५ को नियमावलीलाई टेकेर सभापति कसरी बने ? भन्दै प्रश्न गरे ।
यता सर्वदलिय सर्वपक्षिय समितिका संयोजक रामसिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथि श्रम शोषण समेत भइरहेको आरोप लगाए । उनकाअनुसार ५ वर्ष अगाडी छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी अध्ययन गरेका डा.अमित यादव जानकी आँखा अस्पतालमा काम गर्न सुरू गरे । त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष डा. विजयकुमार सिंह थिए । डा.यादवले २ वर्षको करार सम्झौताको आधारमा काम शुरु गर्नुभएको थियो । उक्त करारको अवधि समाप्त नहुँदै डा. सिंहको पदावधि समाप्त भयो ।
नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ । तर सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो ।
नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ । त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । समितिका निःवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ ।
अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन् । सिंहले नियमावलीअनुसार निःवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिककका पूर्वअध्यक्ष डा.विजय सिंहलाई पदेन सदस्यमा राखेका छन् । सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ ।
यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंह लगायतका अस्पताल प्रशासन पक्षले समेत पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण अरोपको खण्डन गरेको छ ।
आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा.विजय सिंह, गंगाराम यादवपछि मात्रै आफू अध्यक्ष भएको भन्दै यसले अस्पताल गोजीको संस्था नरहेको प्रमाणित गर्ने बताए । साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा. विजय सिंह निर्वाचित पूर्वअध्यक्ष रहेकाले उनीहरुलाई निःवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले स्पष्ट गरे । अहिले आएर झाले रेडक्रस बिरुद्ध जथाभावी अनर्गल प्रचारवाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरेकाे आरोप लगाए ।
आँखा अस्पतालका प्रमुख डा.आशिष बोहोराले कुनैपनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप बेतुकको रहेको दाबी गरे । उनले डा. अमित यादव इन्टन्र्स गर्नका लागि आएकाे र उनको करार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रूप दिइएको आरोप लगाए ।