कारागार र बाल सुधार गृहको अवस्था सुधार गर्ने मन्त्रीहरूको प्रतिवद्धता
काठमाडाैँ । सरकारले नेपालका कारागार र बाल सुधार गृहमा देखिएका समस्याहरूको समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
कानून, न्याय तथा मानव अधिकार समितिको आइतवारको बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश भएको थियो ।
सोही प्रसंगमा बोल्दै गृहमन्त्री रमेश लेखक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडी र कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कारागारमा रहेका समस्याहरु समाधान गर्ने बताएका हुन् । बैठकमा बोल्दै गृहमन्त्री लेखकले देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका भन्दै त्यसको व्यवस्थापनका लागि भौतिक संरचनामा सुधार गर्नु आवश्यक भएको बताए ।
उनले यसतर्फ सरकारले गम्भीरतापूर्वक ध्यान दिने बताए । उनले कारागारको सुरक्षा व्यवस्थापन, सवारी साधन, पुस्तकालय लगायतको व्यवस्थापनमा पनि जोड दिइने बताए । उनले कारागारलाई सीप विकास केन्द्रको रुपमा विकास गर्नुपर्ने पनि बताए । उनले काराकार व्यवस्थापनका लागि तीन तहको सरकारकाबीच समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।
गृहमन्त्री लेखकले बाल सुधार गृहमा पनि भौतिक संरचनाको अभाव रहेको भन्दै सरकारको ध्यानकर्षण भएको बताए । उनले अपराधलाई न्युनिकरण तथा नियन्त्रण गर्न सरकारले ध्यान दिने पनि बताए ।
बैठकमा बोल्दै महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले कारागार र बाल सुधारगृहमा अमानवीय व्यवहार हुने गरेको बताए । उनले कारागारमा मानव अधिकारको उल्लङ्घन भएको बताए । उनले १८ वर्षभन्दा माथिकालाई बाल सुधार गृहमा राख्दा समस्या उत्पन्न हुने गरेको भन्दै कानून सुधार गरेर उनीहरूका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताए ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकार कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न प्रतिवद्ध रहेको बताए । उनले कारागारमा हुने समस्याहरुको बारेमा आफूहरुलाई जानकारी भएको भन्दै संविधान अनुरुप सुधार गर्नुपर्ने कुराहरु सुधार गर्ने बताए ।