९ मंसिर २०८१, आइतबार

देशभर ९२ प्रतिशत रोपाईं सम्पन्न, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै

प्रकाशित मिति :  29 July, 2024 1:34 pm


काठमाडौँ । देशभर ९२.४ प्रतिशत धान रोपाइँ सकिएको छ । १३ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ९२.४ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गत वर्षको यही अवधिमा ७८.१ प्रतिशत भू-भागमा धान रोपाइँ भएको थियो । नेपालमा कुल १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १३ साउनसम्म १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाइँ भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९.६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १२ साउनसम्म सुदूपश्चिममा ९९.२ प्रतिशतनै धान रोपाइँ सकिएको थियो ।

कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ । गत वर्ष धान रोपाइँ हुने क्षेत्रमध्ये १२ साउनसम्म ८५ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष १३ साउनसम्म ९६.९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा पनि ९१.३ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशमा ९१.९, बाग्मती प्रदेशमा ९०.८, मधेश प्रदेशमा ९२.० र कोशी प्रदेशमा ९०.७ प्रतिशत धान रोपाईँ सम्पन्र भएकाे मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !