७ पुस २०८१, आइतबार
सहकारी छानबिन विशेष समिति बैठक

सहकारीको रकम अपचलन गरेर विदेश भागेकालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई विशेष समितिकाे निर्देशन

प्रकाशित मिति :  29 July, 2024 2:05 pm


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।

सोमवार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए । उनले विदेश फरार रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानविनको दायरामा ल्याउन निर्देशन दिएको बताए । उनले वचतकर्ताहरूको वचत दुरुपयोग गरेको वचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए ।

उनले सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा रहेका जीबी राई,सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जन,सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन,थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिपुर सहकारीका प्रेमध्वज लामा,मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए ।

थापाले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने बताए । उनले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरूको नाम गृहमन्त्रीलाई दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !