काँग्रेस–एमालेको गठबन्धन आफूमाथि लागेको भ्रष्टाचारको फाईल रोक्नका लागि होः सांसद मोदी
काठमाडाैँ ।प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाइल बन्द गर्न काँग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो जिकिर गरे । सांसद मोदीले उनले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेपनि उनीहरूले आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताए ।
उनले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानविनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन ? भनि प्रश्न समेत गरे । सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए ।
“गिरिबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरू छन् । त्यसको विषयमा पहिलाको सरकारले जस्तै कामहरु निरन्तरता दिन्छ कि दिँदैन रु यसलाई अगाडि बढाउँछ कि बढाउँदैन ? भन्ने महत्वपूर्ण कुरा हो । नेकपा एमाले र नेपाली काँग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन । खाली उहाँहरुले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाईलहरु बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो,”उनले भने ।
सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै काँग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गरे ।