१७ कार्तिक २०८१, शनिबार

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  30 July, 2024 5:23 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिबाट उत्साहित व्यवसायीको मनोबल गिर्न नदिने गरी काम गर्न निर्देशन दिएका छन् ।

मंगलवार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् । उनले मौद्रिक नीति राम्रो आएको उल्लेख गर्दै मौद्रिक नीतिबाट देशका उद्योगी व्यवसायीहरूको मनोबल बढेकाले यसलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले राजश्वको दर बढाउने नभइ दायरा बिस्तार गर्नुपर्ने बताए । उनले व्यवसायीलाई घुँडा टेकाएर मात्रै नहुने बताए । उनले तत्काल करका दरमा हेरफेर गर्न नसकिने भएपनि सक्नेजति सहज बनाइने बताए । उनले शेयर बजार मात्रै नभइ सम्पूर्ण बजारलाई नै चलायमान बनाउने गरी सरकारले काम गर्ने विश्वास व्यक्त गरे । उनले पोखरा विमानस्थल, भैरहवा विमानस्थल चलाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिए ।

“हामीले तयार गरिसकेका संरचनाहरू सञ्चालन गर्न स्थानीय निकायहरूको ल्याकत छैन । त्यो सञ्चालन गर्नुपर्छ । पोखरा विमानस्थलहरू छन्, चल्दैन भनेर त्यहाँ लेउ लगाउने, झार पलाउने बनाउने त होइन नि त । त्यो त चलाउनु पर्छ नि । त्यत्रो पैसा खर्च गरेर चलाउनुपर्छ । भैरहवा एयरपोर्ट त्यस्तै छ । कहाँ संवाद गर्नुपर्छ, सुधार गर्नुपर्छ गरौँ । तर सञ्चालन गरौँ । धरहरा बनेको छ, मान्छे चढ्न तयार छन्, पाइरहेका छैनन् । पार्किङ छ, व्यवस्थित भएको छैन,” उनले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा उत्पादन हुने खाद्यान्न गुणस्तरको भएमात्रै निर्यात गर्ने र आयात पनि गुणस्तरयुक्त भएमात्रै आयात गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । उनले तीन महिनाको समय दिएर गुणस्तरयुक्त खाद्यान्न उत्पादन गर्न किसानसँग आग्रह गर्न पनि निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !