प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त बनाउने माओवादी केन्द्रको निर्णय
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त बनाउने निर्णय गरेको छ ।मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले ५ दिनदेखिको छलफलमा गम्भीर रुपमा छलफल भएको बताए । उनले प्रमुख प्रतिपक्षको भुमिकालाई सशक्त रूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए ।
उनले जनताका जल्दा बल्दा समस्याहरू र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारबिरोधी अभिायन अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए । उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने निर्णय भएको पनि बताए ।
उनले वृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट बिस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए ।