६ माघ २०८१, आइतबार

सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउन काम गरिरहेको छः अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  30 July, 2024 7:27 pm


काठमाडाैँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् ।

मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन्। उनले सरकारको ध्यान सबैलाई उत्साहकासाथ आफ्नो पेशा, व्यवसाय र उत्पादनमा लाग्नसक्ने परिस्थिति निर्माण गर्नुमा रहेको बताए ।

उनले साना तथा घरेलु उद्योगमा रोजगारीको ठूलो संख्या रहेको तथा स्वरोजगारीको महत्वपूर्ण माध्यम बनेको भन्दै यसको प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताए । उनले यसको निम्ति कानून, नियम, निर्देशिका तथा निर्णयहरुमा ध्यान दिनुपर्ने कुराहरुमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले घरेलु तथा साना उद्योग व्यवसायीहरूले ऐन, कानूनमा सुधार गर्न चाहेको बुँदाहरूको सम्बन्धमा लिखित रूपमा सुझाव दिन पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !