८ मंसिर २०८१, शनिबार

‘समयमै काम सम्पन्न नगर्ने तर समयावधि थप्दै जाने प्रवृत्ति सरकारले रोक्नुपर्छ’

प्रकाशित मिति :  31 July, 2024 6:18 pm


काठमाडाैँ । निर्माण सम्झौता अनुसार आयोजनाहरुको समयमा काम सम्पन्न नगर्ने तर निर्माण कम्पनीको समयावधि थप्दै जाने प्रवृत्ति रोक्न सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले बुधवार नागढुङ्गा सुरुङ मार्ग र नागढुङ्गा–मुग्लिङ सडक खण्ड बारेमा गरेको छलफलमा बोल्दै अधिकांश सांसदहरूले सरकारसँग यस्तो माग गरेका हुन् ।

उनीहरूले समिति आयोजना निर्माणको अनुगमनमा जाँदा जग्गा मुआब्जा लगायतका समस्या देखाएर काम नगर्ने तर समयअवधि थप्दै जाने गरेको पाइएको बताए । सांसदहरूले नागढुङ्गा सुरुङ मार्गको काम सन्तोषजनक भएपनि नागढुङ्गा–मुग्लिङ सडक खण्डको काम सन्तोषजनक नभएको बताए । उनीहरूले निर्माण कम्पनीहरूले समयमा काम नगर्ने तर सांसद र सरकारी कर्मचारीहरूसँग भेट हुँदा भावनात्मक कुरा गरेर समयअवधि थप गर्ने गरेको आरोप लगाए ।

समयमै सम्झौताअनुसारको काम नगर्दा जनताले दुःख पाएको बताए । समिति बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले निर्माण व्यवसायीहरूको भुक्तानी लगात सम्पती सुरक्षाका विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए । उनले सरकारले निर्माण व्यवसायीहरुका मागलाई सम्बोधन गर्दा समेत समयमा आयोजना निर्माण नसक्ने तर समय अवधि लम्ब्याइरहने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

उनले निर्माण व्यवसायीहरूले जनप्रतिनिधिलाई भेट्दा भावनात्मक कुरा गर्ने तर समयमा निर्माणको काम नसक्ने निर्माण कम्पनीको निर्माण सम्झौतालाई सरकारले निरन्तरता दिन पुनर्विचार गर्नुपर्ने बताए ।

समिति बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद शंकर भण्डारीले नागढुङ्गा–मुग्लिङ सडक खण्ड समयमा निर्माण गर्ने नसक्नु अन्तर निकायबीचको समन्वय रहेको बताए । उनले समयमा निर्माण हुन नसक्नुमा नीतिगत विषय र सरकारको जिम्मेवारीमा समेत प्रश्न उठ्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारले चाडपर्व लक्षित गरेर नागरिकलाई सुरक्षित यात्रा कसरी गराउन सकिन्छ रु भनेर छलफल गर्न जरुरी रहेको बताए । उनले सरकारले चाडपर्व लक्षित नागरिकलाई सडक यात्रा गर्दा दिनसक्ने सेवा सुविधाको विषयमा अहिलेदेखि ध्यान दिन आवश्यक रहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले नागढुङ्गा सुरुङ मागमा स्थानीय नागरिकले उठाएका जायज मागलाई सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सडक र पुलका आयोजनाहरु समयमा सम्पन्न नभएको बारे सरकारले दिएको आधार चित्तबुझ्दो नभएको बताइन् । उनले सडक निर्माण लगायतका आयोजनाहरु समयमा सम्पन्न हुँदैनन् भन्ने वंशाणुगत रोग जस्तो बनाउन नहुने बताइन् ।

सडक विभागका महानिर्देशक रामहरी पोखरेलले दशैँअगाडि सडक मर्मतको लागि असारमा नै ठेक्का लागेको बताए ।उनले सडक मर्मतको लागि ठेक्का लागेकाले दशैँअघि देशभरका सडक मर्मत भइसक्ने बताए ।

उनले नागढुङ्गा–मुग्लिङ सडकको वैकल्पिक मार्ग बनाउने विषयमा सडक बनाउने भन्दा जनताको जग्गाको मुआब्जा बढी आएकाले समस्या भएको बताए ।



प्रतिक्रिया दिनुहोस !