१७ कार्तिक २०८१, शनिबार

सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापासँग सहकारी छानविन विशेष समितिको छलफल

प्रकाशित मिति :  1 August, 2024 8:15 am


काठमाडौँ। सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारी अभियानका थालनीकर्ता विश्ववन्धु थापा र ओरेन्टल सहकारीका सञ्चालक सुधिर बस्नेतसँग छलफल गरेको छ ।

बुधवार समितिले थापा र बस्नेतसँग छुट्टा—छुट्टै छलफल गरेको समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले बताए। अभियन्ता थापाले २०१७ सालमा जुन उद्देश्यले सहकारीको अभियान थालनी भएको थियो, सो अनुसार चल्न नसक्दा अहिले समस्या आएको समितिलाई जानकारी दिएका छन्।

छलफलमा मान्छे असल भए संस्था बलियो हुने र अघि बढ्ने तथा खराब व्यक्ति भए राम्रो गर्न सम्भव नरहेको बताएको पनि सभापति थापाले जानकारी गराए।

सभापति थापाले त्यो बेलामा साझा केन्द्रको अवधारणा पञ्चायतलाई राजनीतिक परिपाटीका रुपमा र साझालाई आर्थिक प्रणालीका रुपमा अगाडि बढाएको समितिलाई जानकारी दिएको उल्लेख गरे।

उनले त्यो बेलाको साझा केन्द्रमा पनि सरकार परिवर्तन हुने बित्तिकै अध्यक्ष र प्रवन्धक परिर्वतन हुने भएकाले राम्रोसँग अघि बढ्न नसकेको बताएको उल्लेख गरे।

थापाले राजनीतिक र सहकारी सञ्चालनको लागि असल व्यक्ति चाहिने बताएको जानकारी सभापति थापाले दिए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !