डिआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन गृहमन्त्री लेखकको आग्रह
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रूपमा लिन आग्रह गरेका हुन् ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डिआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिएका हुन् । उनले कर्मचारीहरूको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए ।
उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए । सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरे ।
गृहमन्त्री लेखकले सदाचार नीति आवश्यक रहेको भन्दै सरकार यो नीतिलाई पारित गरेर लागू गर्नका लागि प्रतिवद्ध छ रहेको बताए ।