२६ पुस २०८१, शुक्रबार

हवाई एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्छः उपसभापति खड्का

प्रकाशित मिति :  1 August, 2024 3:37 pm


काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हवाई दुर्घटना एवं सडक दुर्घटना न्युनिकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

बिहीवार सौर्य विमान दुर्घटनाबाट घाइते पाइलट मिनषरत्न शाक्यको स्वास्थ्यअवस्था बुझ्न काठमाडौँ मेडिकल कलेज पुगेका उपसभापति खड्काले आफूले पाइलट शाक्यलाई भेटेको र उनको स्वास्थ्यअवस्था सुधारोन्मुख हुँदै गएको बताएका हुन् । उनले विमानस्थलमा थप केके सुविधा थप्नुपर्ने हो त्यसमा आवश्यक ध्यान दिनुपर्ने बताए ।

नेपाली काँग्रेसका सांसद एवं अस्पतालका प्रमुख डा. सुनिल शर्माले पूर्वजन्ममा धेरै पुण्य गरेको फल अहिले प्राप्त भएको बताए । उनले काठमाडौँ मेडिकल कलेज प्राविधिक रुपमा कति सक्षम भन्नेकुरा पनि आम नागरिकलाई जानकारी मिलेको बताए ।

“पुर्खाहरूले राम्रो कर्म गरेकाले धेरे पुण्य काम गरेकाले उहाँ जीवित हुनुहुन्छ । किनभने सबै मर्ने उहाँ बाँच्नसक्ने भन्ने हुँदैन । उपचार गरेर उहाँलाई जोगाउने हाम्रो चिकित्सक टिमलाई पनि धन्यवाद दिन्छु । काठमाडौँ मेडिकल कलेज प्राविधिक रूपमा कति सक्षम छ, भन्नेकुरा पनि आम जनतालाई बुझ्न सजिलो बनाएको छ,” उनले भने ।

यता, अस्पतालकी निर्देशक डा.मिना थापाले पाइलट शाक्यको अवस्था सामान्य हुँदै गएको बताइन् । उनले भनिन्,”मनिषरत्न शाक्यको स्वास्थ्य स्थिति सामान्य हुँदै गएको छ । सोचेअनुसारको स्वास्थ्य अवस्था सुधार भएको छ । उहाँको उपचार घरमा बसेर पनि लगातार हुन्छ । उहाँको ढाडको एउटा हड्डि भाँचिएको हो ।”

पाइलट शाक्यलाई आज नै डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ । साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान धावनमार्गनजिकै दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । सोही घटनामा शाक्यलाई भने घाइते अवस्थामा उद्धार गरेर केएमसी लगिएको थियो ।



प्रतिक्रिया दिनुहोस !