९ मंसिर २०८१, आइतबार

बेल्वा बञ्जाडी किसान आन्दोलनको विरासत : लुम्बिनी प्रदेश क्याबिनेटमा एक्लाे महिला मन्त्री

प्रकाशित मिति :  4 August, 2024 11:36 am


दाङ । लुम्बिनी प्रदेशमा मन्त्री बन्नेमा एक्लो महिला भएकी छन्,सीता चौधरी शर्मा ।

पछिल्लो नेकपा एमाले र कांग्रेसको संयुक्त सरकारमा उनी नेकपा एमालेबाट उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बनेकी हुन् ।

उनी माओवादी पृष्ठभूमि भएकी मन्त्री हुन् । केन्द्रीय पार्टी कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र जिल्लाको पार्टी नेतृत्वको उपस्थितिमा २०७८ चैत १० गते सीता एमाले प्रवेश गरेकी थिइन् ।

माओवादी केन्द्र परित्याग गरेको २८ महिनामा उनले लुम्बिनी प्रदेशमा मन्त्रीको अवसर पाएकी छन् । उनलाई नेकपा एमालेले लुम्बिनी प्रदेशमा थारू महिला आरक्षण कोटाबाट समानुपातिक प्रदेश सभा सदस्य बनाएको थियो ।

वि.सं. २०४५ साल वैशाख १३ गते घोराही उपमहानगरपालिका वडानम्वर–३ बेलुवामा पिता चन्द्रलाल चौधरी र माता फूलमानी चौधरीको तेस्रो सन्तानका रुपमा सीताको जन्म भएको थियो ।

सिङ्गो मुलुककै ध्यान खिचेको २०१६ सालमा दाङकाे बेल्वा बञ्जाडी किसान आन्दोलनको नेतृत्व सीताकी हजुरआमा लाहनी चौधरीले गरेकी थिइन् । यो किसान आन्दोलन नेपालको राजनीतिमा महत्वपूर्ण घटना मानिन्छ । यही आन्दोलनमा किसान नेता गुम्रा थारू सहिद भएका थिए ।

बेल्वा बञ्जाडी किसान आन्दोलनको विरासत बाेकेकी सीता २०५८ सालमा माओवादी जनयुद्धमा सहभागी भइन् । राजनीतिमा लाग्दालाग्दै २०६३ सालमा दाङका युवानेता प्रमोद शर्मासँग जनवादी विवाह गरिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट सीता उपमेयरको उपमेयर थिइन तर पराजित भइन् । उनी २०७८ चैतमा माओवादी केन्द्र छोडेर एमालेमा सहभागि भएकी थिइन् ।

पार्टीभित्र असन्तुष्टी !

‘यो पुरानो एमाले होइन,नेकपाकै निरन्तरता हो । महाधिवेशनले पूर्वमाओवादी नेताहरूलाई पदाधिकारी र केन्द्रीय कमिटीमा सम्मानजनक स्पेस दिएर यो पुष्ट गरेको छ’, दशौं महाधिवेशन लगत्तै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा आयोजित कार्यक्रमको सम्बोधन थियो यो ।

उनले थपेका थिए,“महाधिवेशनबाट १९ पदाधिकारी चयन गर्दा पूर्वमाओवादी पृष्ठभूमिका तीन जना समेटिनुभएको छ । सोही परिमाणमा केन्द्रीय सदस्य पनि निर्वाचित हुन भएको छ । एमालेमा कसैलाई विभेद छैन । यो महसुस हुन दिने छैनौं ।”

नेकपा एमाले दाङमा भने पूर्व विचार समूहका नाममा फरक व्यवहार हुने गरेकोमा माओवादी पृष्ठभूमिका नेताहरु गुनासो गर्छन् । यसको उदाहरण आफै सीता बनेकी छन् । सीता मन्त्री त बनिन् तर पार्टीभित्र उनकाे विराेध भएकाे छ ।

नेकपा एमाले जिल्ला सदस्य तथा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका गणेश आचार्यले सामाजिक सञ्जाल मार्फत एमाले दाङभित्रको असन्तुष्टिलाई बाहिर ल्याएका छन् ।

सीता मन्त्री बनेलगत्तै उनी लेख्छन्, “वर्षौंदेखि एमालेको राजनीतिमा पसिना बगाएका सांसद हुँदाहुँदै उनलाई मन्त्री बनाइएपछि खासगरी एमालेका दुई महिला सांसद बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक शर्मा असन्तुष्ट छन् ।” आचार्यले एमालेभित्रका अन्य दुइ सांसद असन्तुष्ट रहेको सार्वजनिक गरेका हुन् ।

यस विषयलाई स्वीकार्न पार्टी नेताहरु तयार छैनन् ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले मन्त्री चयन गर्दा कुनै विवाद नभएको जानकारी दिए ।

उनी भन्छन्, ‘मन्त्री चयनको विषयलाई लिएर सार्वजनिक भएजस्तो कुनै खालका विवाद उत्पन्न भएका छैनन् । पार्टीले सबैलाई समान अवसर दिँदै आएको छ । एमालेको नीति, विचारलाई आत्मसात गरी एमालेमा प्रवेश गरी पार्टी काममा खटिएका नेता कार्यकर्ताहरुको अपमान हुनेगरी प्रस्तुत हुन कोही कसैलाई पनि छुट छैन ।’

यसरी मन्त्री बनिन् सीता

वि.सं. २०७९ सालको पछिल्लो निर्वाचन यता लुम्बिनी प्रदेशमा एमाले पटक पटक गरी ३ पटक सरकारमा सहभागी भएको छ । यसअघि २ पटक सरकारमा दाङको प्रतिनिधित्व भएको थिएन ।

प्रदेश राजधानीसमेत रहेको दाङको प्रतिनिधित्व गराउँदा एमालेबाट सीता रोजाइमा परेकी हुन् । यसो त दाङ्को प्रतिनिधित्व गरेर जाने आकांक्षी रेखा पनि थिइन तर रेखाको बिग्रदो छबिले सीतालाई मन्त्री बन्ने बाटो खोलिदिएको हो ।

गत जेठमा बालबालिका सम्बन्धी अपराध गरेको कसुरमा काठमाडाैँ प्रहरी परिसरमा रेखा बिरुद्ध जाहेरी दर्ता भएको थियो ।

यही कारण उनी पार्टीभित्र र बाहिर आलोचित बन्दै गएकी थिइन् । रेखा आलोचित बन्दै जाँदा सीताले पार्टीभित्र राजनीतिक सक्रियता बढाएकी छन् ।

रेखाको काठमाडाैँ स्थित घरमा १४ वर्षिया बालिकालाई ८ वर्षदेखि बाल श्रमिकका रुपमा काम गराइरहेको अवस्थामा काठमाडाँै महानरपालिकाले बालिकाका उद्दार गरेको थियो ।

यही कारण उनी पार्टीको रोजाइमा नपरेको पार्टी स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !