सुशासन र समृद्धिका लागि वर्तमान सरकार गठन भयो:मन्त्री भट्टराई
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार गठन भएको बताएकी छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले जनतामा आशा जगाउने लक्ष्यका साथ ठूला दुई दल मिलेर सरकार बनेको बताए ।
मन्त्री भट्टराईले भनिन् “वर्तमान सरकारलाई अनुशासन विपरीत काम गर्ने छुट छैन, जसले गर्दा कानुनी अड्चनलाई आवश्यकताअनुसार परिमार्जन गरेर अघि बढ्ने छ।”
उनले रोजगार सुनिश्चित गर्ने खालको शिक्षा वर्तमानको आवश्यकता भएको भन्दै उनले बढ्दो युवा पलायनलाई रोक्नु पनि सबै मिलेर काम गर्न जरुरी रहेको बताइन् ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदे मन्त्री भट्टराईले यसबाट पर्यटकीय राजधानी पोखराको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने स्पष्ट पारिन् ।