२ माघ २०८१, बुधबार

मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ– खेलकुदमन्त्री चौधरी

प्रकाशित मिति :  6 August, 2024 8:53 am


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया तथा बधाइ कार्यक्रमको अवसरमा मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखेका हुन्।

भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने उनको भनाइ छ ।

मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याउँदै खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गरे।

अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिनेसके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ ।

आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए।

खेलकुद क्षेत्रमा आफू केही योगदान गर्ने उद्देश्यले आएको मन्त्री चौधरी जनाउँदै खेलकुदको कार्यकारी निकायमा जुनसुकै व्यक्ति भएपनि ऐनअनुसार काम गरे आफ्नो सहयोग रहने लक्ष्य सुनाए।

उनले पूर्वमन्त्रीहरूले गरेका राम्रा काम भए त्यसलाई आफूले पनि निरन्तरता दिने बताए।

नेपाली खेलकुद क्षेत्र एउटा व्यक्ति ४०÷५० वर्षसम्म एउटै पद अध्यक्ष या महासचिव पदमा बसिरहेको अवस्था पनि रहेको मन्त्री चौधरीले उल्लेख गर्दै यस्तो अवस्था हटाउने प्रयासमा आफू रहेको भनाइ उनको छ ।

मन्त्री चौधरीले एउटै मानिस जहिल्यै त्यही पदमा बसिरहनुको अर्थ केही खराब काम पनि भइरहेको शंका गर्नुपर्ने पर्याप्त ठाउँ रहेको धारणा राखे । आगामी दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुनेगरी अहिले काम भइरहेको मन्त्री चौधरीले प्रष्ट पारे।

खेलकुद यसपटक खेलकुद व्यवस्थित र सबै टेन्डर प्रक्रिया अपनाएर हुनेमा विश्वस्त रहन आग्रह गर्दै अहिले ३६ वटा खेल राष्ट्रिय खेलकुदमा खेलाइने तयारी भइरहेको जनाए।

आयोजक प्रदेश कर्णालीसँग पनि त्यहाँको भौतिक अवस्थाबारे जानकारी लिने काम भइरहेको उनलेब बताए।

राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरे।

यस पटक पनि पूर्वाधार अभावमा कर्णाली प्रदेशमा २४ खेल मात्र खेलाइने उनले संकेत गरे।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !