१४ मंसिर २०८१, शुक्रबार

संघीय संसदका ६ समिति बैठक बस्दै

प्रकाशित मिति :  8 August, 2024 8:12 am


काठमाडौँ । बिहीवार विभिन्न ६ वटा संसदीय समितिका बैठक सिँहदरबारमा बस्ने भएका छन्।

अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।

बिहान ११ बजे अर्थसमितिको बैठक नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

कानुन, न्याय तथा मानवअधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ।

कानुनको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुने भएको छ।

राज्यव्यवस्थाको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा बैठकमा वर्षा याममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !