१४ मंसिर २०८१, शुक्रबार

‘नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा छु’

प्रकाशित मिति :  8 August, 2024 5:34 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताएका छन्।

एयर डाईनेष्टीको हवाई जहाज दुर्घटनामा विषयमा बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले मातहतका निकायलाई कारबाही गर्ने प्रश्नमा सरकार गम्भिरतापूर्वक लागि परेको बताए । उनले आफूले गरेको निर्णय फेरि अदालतबाट बदर नहोस् भन्नका लागि सो निर्णय लिनुअघि आफूले कानूनी परामर्श अघि बढाएको पनि समितिमा स्पष्टिकरण दिए ।

मन्त्री पाण्डेले नैतिकता लादने विषय नभएको हुनाले त्यसमा जिम्मेवार व्यक्ति आफैँ सचेत हुनुपर्ने बताए। समितिको बैठकमा सांसदहरुले महानिर्देशक अधिकारलाई पदमुक्त गरेर मात्रै छानविन प्रक्रिया अघि बढाउन सरकारलाई सुुझाव दिएका थिए । मन्त्री पाण्डेले संसद र संसदीय समितिले दिएको निर्देशन अनुसार सरकार चल्नुपर्ने भएकाले पनि समितिको निर्देशन आफूहरुले पालना गरेर अघि बढ्ने बताए ।

बैठकमा सत्तारुढ दलका सांसदहरूले नै प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थियो । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले महानिर्देशक अधिकारीलाई बहाल राखेर हुने कुनैपनि छानविन निष्पक्ष हुनै नसक्ने भएकाले पनि उनलाई पदमुक्त गर्न आवश्यक रहेको तर्क गरे ।

एमालेकी सचेतक सुनिता बरालले पटक पटक हुने हवाई दुर्घटनाको जिम्मेवारी सरकार आफैले लिनुपर्ने बताइन् । उनले नियामक निकायको कामलाई प्रभावकारी बनाउने, दोषीमाथि कारबाही गर्ने विषयमा सरकार गम्भिर हुनुपर्ने धारणा पनि राखिन् ।

यता, प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले हवाई दुर्घटनामा गल्ती गर्नेहरुलाई सरकारले कानूनी दायरामा ल्याउने कुरामा ढिलाई गर्न नहुने बताए । उनले सो सम्बन्धमा नीतिगत सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !