शुक्रवार सातै प्रदेशमा भारी वर्षाको सम्भावना, शनिवार र आइतवार पनि वर्षा हुने
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
शुक्रवार बिहानीपख गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रवार सबै प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
वर्षाका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सचेत रहन अनुरोध गरिएको छ ।
शनिवार र आइतवार पनि मनसुनी वायुको प्रभाव रहने भएकाले वर्षा जारी रहने विभागको पूर्वानुमान छ ।
आगामी तीन दिनकाे माैसम पूर्वानुमान बुलेटिन हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।