सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरीहरू लाभान्वित छन्ः वनमन्त्री ठकुरी
काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताएका छन् ।
शुक्रवार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समुदायमा आधारित वन व्यवस्थापन प्रणाली अवलम्वन गरी स्थानीय समुदायको सहभागितामा राष्ट्रिय वन संरक्षण एवं व्यवस्थापन गर्ने नेपाल सरकारको नीति अनुरुप ४ दशक पहिला कार्यक्रम सुरू भएको बताए । उनले यस कार्यक्रमबाट हालसम्म देशभरका २३ हजार भन्दा बढी सामुदायिक वन र उपभोक्ता समूहहरूले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताए ।
उनले नेपालले सामुदायिक वन व्यवस्थापनबाट प्राप्त गरेका उपलब्धिहरू, सफलताहरू विश्वमा नै उदाहरणीय रहेको जिकिर गरे । उनले सामुदायिक वन लगायत समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले नेपालमा हरियाली वृद्धि गर्न वनको हैसियतमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न महत्वपूर्ण योगदान र जलाधार संरक्षण गर्न सहयोग गरेको उल्लेख गरे ।