१४ मंसिर २०८१, शुक्रबार

उपसमितिले दिएको सुझावहरू कार्यान्वयन गर्न सरकारलाई समितिको निर्देशन

प्रकाशित मिति :  9 August, 2024 3:38 pm


काठमाडाैँ । कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझावहरूलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न ३ वटा उपसमिति गठन गरेको थियो ।

सो उपसमितिहरूले समिति समक्ष प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनहरूमाथि छलफल गरेर समितिले ति प्रतिवेदनले दिएको सुझावहरुलाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । बैठकले मोरङको बिराटनगर बाल सुधारगृह तथा मोरङ, सुनसरी र धनकुटा जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन, २०८१ को सुझावलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै वीरगञ्जको बाल सुधार गृह र पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ र बाँकेको जयन्दु बाल सुधार गृह र बाँके, बर्दिया र सुर्खेत जिल्लाको कारागार अनुगमन उपसमितिको प्रतिवेदन २०८१ मा रहेका सुझावहरु कार्यान्वयन गर्नका लागि गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् ।

समितिले उपसमितिको प्रतिवेदनमा नसमेटिएका सुझावहरू पनि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !