नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छः कानूनमन्त्री चौरसिया
काठमाडाैँ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राखेका हुन्। उनले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताए ।
उनले समान उमेरका बालबालिकाबिचमा सहमतीमा हुने सम्बन्धमा बालकलाई मात्रै विभिन्न मुद्दाहरू लाग्ने गरेको भन्दै त्यस्तो कानून सुधार गर्नुपर्ने बताए । त्यस्तै प्रशासनले कुदृष्टि राखेर व्यक्तिलाई अनावश्यक रुपमा मुद्दा चलाइने गरेको भन्दै कानूनहरूमा आवश्यक सुधार गर्न आफू तयार रहेको बताए ।
“शासन, प्रशासनमा बसेकाहरुसँग तलमाथि भयो वा प्रशासनको नै कुदृष्टि भयो भने ल्याएर राखिदिने, मुद्दा चलाइदिने, पछि प्रमाणित नहुने यस्तो अवस्था पनि आम जनताले भोग्नु परेको छ । यि कानूनहरुमा कसरी सुधार गर्ने, के–के सुधार गर्ने यो समितिले निर्देशन दिएमा त्यसलाई म अगाडी बढाउनेछु । कारागार र बाल सुधार गृहमा राष्ट्रले धान्नसक्ने संशाधनभित्र रहेर जहाँ जहाँ सुधार गर्न सकिन्छ, म गर्न तयार छु,” उनले भने ।
उनले राष्ट्रले धान्नसक्ने संशासधन भित्र रहेर नेपालका कारागार र बालसुधार गृहहरूको सुधार गर्न आफू तयार रहेको बताए ।