१४ मंसिर २०८१, शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  9 August, 2024 4:43 pm


काठमाडाैँ । ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई हिजाे (बिहीबार) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको कमल गाउँपालिका वडा नमबर ३ घर भई हाल काठमाडौँको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ घर भएका २१ वर्षीय प्रेम बहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा फेला परेको प्रदेश २ -०२-०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल सहित भट्टराई र राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्दा वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प २५ १३ रहेको मोटरसाइकल पाख्रिनबाट लिएको खुल्न आएको छ ।

उक्त मोटरसाइकल काठमाडौँको माछापोखरीबाट यही साउन २३ गते हराएको भनि खोजतलासको लागि श्याम लाल लोप्चन तामाङले निवेदन दिएका थिए ।

अनुसन्धान तथा खोजतलासको क्रममा पाख्रिनलाई भक्तपुरको कौशलटारबाट बागमती प्रदेश ०२-०४९ प ०२ ०९ नम्बरको केटीएम डुक मोटरसाकल र लक तोड्न प्रयोग हुने औजार सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त मोटरसाइकल यही साउन २२ गते भक्तपुरको लोकन्थलीबाट हराएको भनी कैलाश लोक्ताम लिम्बुले खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !