१४ मंसिर २०८१, शुक्रबार

एमालेसँगको सत्ता गठबन्धन चुप लागेर बस्नका लागि होइनः महामन्त्री शर्मा

प्रकाशित मिति :  10 August, 2024 2:01 pm


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।

कांग्रेस र एमालेबिच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाई थियो । महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए ।

उनले आफूहरुबिच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे । महामन्त्री शर्माले सत्तारुढ दलहरुबीच विमतिका कयौं विषयहरु रहेको उल्लेख गर्दै कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्नेकुरा हुनै नसक्ने बताए । उनले सरकारको भविष्य काम र संयमतामा निहित रहेको समेत बताए ।

महामन्त्री शर्माले भने, “अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेका बीचमा भएका विमतिका विषयवस्तुहरुलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ ।”

उनले थप भने, “हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन । यो गठबन्धन बनाउँदै गर्दाखेरी विमतिको बीचमा सहमती गरेर गएका छौं । जति विमतिका विषयहरु छन् । त्यसलाई कार्पेटमुनि धुलो छोपेर माथिबाट अत्तर छर्केर जाने भन्ने बिल्कुलै होइन । त्यसकारणले गर्दाखेरी सरकारको गतिविधिमा, काममा, संयममा यो सरकारको भविष्य निश्चित छ ।”

महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए । मुलुकलाई ऋणको भार बढाउने खालको आयोजनाहरुको काम अहिलेका लागि प्राथमिकतामा राख्न नहुने उनको सरकारलाई सुझाव थियो ।



प्रतिक्रिया दिनुहोस !