१३ मंसिर २०८१, बिहिबार

नयाँ युवानीति आवश्यक छः राष्ट्रपति पौडेल

प्रकाशित मिति :  12 August, 2024 1:22 pm


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवानीति आवश्यक भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता, सूचना प्रविधिको विकास तथा बदलिँदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता भएको बताएका हुन् ।

उनले परिवर्तित विश्व परिवेश, विज्ञान र प्रविधिमा आएको नवीनतम विकासका सन्दर्भमा युवा सम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले गुणस्तरीय, समय सापेक्ष, रोजगारमुलक शिक्षाको सीमितता, व्यवसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा जनशक्ति पलायन, कमजोर स्वास्थ्य पोषण र मनोबल, युवामैत्री लगानी र उद्यमशील वातावरणको सीमितता रहेको बताए ।

उनले वातावरणीय सम्पदाको संरक्षण र संवर्द्धन तथा विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिबीच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका आवश्यकताको परिपूर्ति, समानता एवम् समतामुलक वितरणको सिद्धान्तको आधारमा गर्न आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले युवालाई समाज रुपान्तरणको माध्यम बनाउन आग्रह गरे । उनले नेपालसँग भएका प्राकृतिक सम्भावनालाई सही सदुपयोग गर्न सके समृद्धिका लागि कतै भौँतारिनु नपर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !