नेपाल-भारत विदेश सचिव भेटः दुई देश बिचका संयन्त्रहरूको बैठक सुचारु गर्नेबारे छलफल
काठमाडाैँ । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले पररराष्ट्र मन्त्रालयकि सचिव सेवा लम्सालसँग भेटवार्ता गरेका छन् ।
विदेशसचिव मिस्रीले सोमवार काठमाडौँको नक्शालस्थित होटल हिल्टनमा परराष्ट्र मन्त्रालयकि सचिव लम्सालसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा दुई देशका बिचमा विगतमा भएका सहमतिहरू तथा भारतीय सहयोगमा सञ्चालित विभिन्न कार्यक्रमहरूलाई अझ क्रियाशील बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल–भारत सम्बन्धको सबै पक्षहरूको बिचमा समिक्षा गर्ने र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भारतीय सहयोगमा सञ्चालित परियोजनाहरू र दुई देशका बिचमा भएका विभिन्न संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि कुराकानी भएको बताए ।
उनले भारतको विदेश सचिवले नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमण गर्ने प्रचलन रहेको भन्दै अहिलेको भारतीय विदेश सचिव र नेपालकि परराष्ट्र सचिवबिचको भेटवार्ता परिचयात्मक भेटवार्ता मात्रै भएको बताए ।