टिआरसी विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्छौंः प्रधानमन्त्री ओली
काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालिन न्याय (टिआरसी) विधेयक संसदको चालु अधिवेशनबाटै पारित हुने बताएका छन् ।
मंगलवार महान्यायाधिवक्ताको कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । प्रतिनिधि सभामा पेश गरिएको सो विधेयकबारे बुधवार (भोलि) राजनीतिक दलका नेताहरुले आफ्नो धारणा राख्ने कार्यसूचि तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेताहरुले आफ्नो धारणा राखेपछि २ दिन भित्र सो विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा जाने बताए । प्रधानमन्त्री ओलीले सो विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको दाबी समेत गरे। उनले सो विधेयकबारे अन्तर्राष्ट्रिय समुदायले सक्रियतापूर्वक चासो राखेको र त्यसलाई सफलताका साथ अघि बढाउने बताए ।
प्रधानमन्त्री ओलीले संक्रमणकालिन न्यायलाई सफलतापूर्वक अघि बढाउन नेपालले वाह्य नक्कल गरिरहन आवश्यक नभएको पनि बताए ।