९ मंसिर २०८१, आइतबार

सहकारी ठगी आरोप लागेपछि स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी

प्रकाशित मिति :  15 August, 2024 9:55 am


स्याङ्जा । सहकारी ठगी प्रकरणमा मुछिएका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाको निवेदनका अनुसार जिल्ला अदालत स्याङ्जाले कुँवरसिहत तारेन्द्रबहादुर केसी र सन्ध्या भण्डारीलाई पक्राउ गर्न अनुमति दिएको हो । सूर्योदय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोप उनीमाथि छ । उनको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो ।

सूर्योदय र जनजागृति सहकारी मिलेर २०७४ सालमा सूर्योदय सहकारी बनेको थियो । कुँवर उक्त सहरकारीको सचिवका रूपमा काम गरेका थिए । छानबिनमा दोषी देखिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साउन २८ गते कुँवर, बिरुवा सेवा केन्द्रका संयोजक तारेन्द्रबहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा शाखाकी कर्मचारी सन्ध्या भण्डारी विरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । तारेन्द्र र सन्ध्यालाई यसअघि नै पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !