१३ मंसिर २०८१, बिहिबार

स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरूपता कायम गर्छौंः पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति :  15 August, 2024 3:41 pm


काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको बताएका हुन् । उनले हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने पनि विश्वास दिलाए ।

उनले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए ।

उनले सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको जिकिर गरे । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरू कार्यान्वयन गरिएको बताए ।

उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रूपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको बताए ।

पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !