समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न आवश्यकः उपप्रधानमन्त्री सिंह
काठमाडाैँ ।उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रूपान्तरण गर्न सबै मिल्नुपर्ने बताएका छन् ।
शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गरे । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताए ।
उनले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गरे । उनले अधिकारका लागि लडेर ल्याएका अधिकारहरूको संरक्षणमा जुट्न पनि आह्वान गरे। उनले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताए ।
“हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ । यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ । जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि । सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौँला । हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ ।”
उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गरे । उनले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरूप्रतिवद्ध रहेको बताए ।