काभा वुमेन्स नेशनल भलिबल लिग खेल्ने १४ नेपाली खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने सरकारको निर्णय
काठमाडाैँ । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिम काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट खेलाडी १४ जनालाई जनही ३ लाख, मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १, सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
मन्त्री गुरुङकाअनुसार मन्त्रिपरिषद्ले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणलाई स्वीकृति दिएको छ । परराष्ट्र मन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ गतेदेखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै भदौ ११ गतेदेखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने न्युट्रिशन फाइनान्सिङ सम्बन्धी कार्यक्रममा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.आर.पी विच्छालाई स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।