परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत
काठमाडौँ । पराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी भदौ २ गतेदेखि ६ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गर्ने भएकी छन्। नयाँ सरकार गठन भएपछि परराष्ट्रमन्त्रीको तर्फबाट हुन लागेको यो पहिलो भ्रमण हो।
परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलको भारत भ्रमणसम्बन्धी कार्यक्रमलाई सरकारले स्वीकृत गरिसकेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री राणाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मन्त्रिपरिषद्ले राजश्व न्यायाधिकरण पोखराको कानूनी सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधिश सुदर्शन राज पाण्डेलाई तोकेको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१\०८२ का लागि ४१ वटा राजपत्राङ्कित अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृति गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७९\८० र २०८०\८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतप्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८१\०८२का लागि नविकरण गर्न आएमा अन्तिम एक पटकका लागि नविकरण गरिदिने गरी बाँधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको छ ।
त्यसैगरी ललितपुर महानगर महानगरपालिकालाई रसिया महासंघको उलानउदे नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने र राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो सरहका विभिन्न ५९ जना कर्मचारीहरूलाई विभिन्न निकायमा सरुवा गर्ने तथा कामकाग गर्न खटाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।