३ आश्विन २०८१, बिहिबार

एमाले लुम्बिनी प्रदेश दलको नेतामा आचार्य चयन

उपनेतामा श्रेष्ठ, प्रमुख सचेतकमा चौधरी र सचेतकमा रोका चयन
प्रकाशित मिति :  17 August, 2024 4:48 pm


दाङ । नेकपा (एमाले) को लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् । शनिबार बुटवलमा बसेको दलको बैठकले अर्घाखाँची निर्वाचन क्षेत्रनम्वर १ (१) बाट निर्वाचित आचार्यलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले जानकारी दिए ।

दलको उपनेता आचार्यलाई केन्द्रीय नेतृत्वले मुख्यमन्त्री बनाएसँगै असन्तुष्ट पूर्व मुख्यमन्त्री लिला गिरीले दलको नेताबाट राजिनामा दिएका थिए । साउन ७ गते गिरीले पदबाट राजीनामा दिएका थिए ।

पार्टी केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज पद्मा अर्यालको विशेष उपस्थितिमा दलको बैठक बसेको थियो । बैठकले दलको उप नेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । रुपन्देही क्षेत्रनम्वर २ (२) बाट निर्वाचित श्रेष्ठले यसपूर्व स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

त्यस्तै प्रमुख सचेतकमा तुलसीराम चौधरी र सचेतकमा यमुना रोका चयन भएका छन् । बैठकले मंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक चौधरीले एकमतका साथ मुख्यमन्त्रीमा आचार्यलाई मत दिन सम्पूर्ण एमाले प्रदेश सभा सदस्यहरुलाई ह्वीप जारी गर्ने निर्णय भएको बताए । बैठकमा पूर्व दल नेता गिरी भने अनुपस्थित थिए । लुम्बिनी प्रदेश सभामा प्रमुख दल एमालेका २९ जना प्रदेश सभा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !